डेभिड मिलर कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्ने

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार ब्याटर डेभिड मिलरलाई अनुबन्ध गरेको छ। फ्रेन्चाइजले शुक्रबार आधिकारिक घोषणा गर्दै ३७ वर्षीय बायाँहाते मध्यक्रम ब्याटरलाई टोलीमा भित्र्याएको जनाएको हो।
विश्व क्रिकेटमा ‘किलर मिलर’ को नामले चिनिने मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी हुन्। यसअघि क्लबले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटलाई टोलीमा समेटिसकेको छ।
दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका मिलरले २ हजार ८०४ रन बनाएका छन्, जसमा दुई शतक र नौ अर्धशतक छन्। सन् २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा हानेको कीर्तिमानी शतक टी–२० अन्तर्राष्ट्रिय इतिहासकै तीव्र शतकमध्ये एक मानिन्छ। समग्रमा ५८४ टी–२० खेलमा उनले १२ हजार ४३५ रन बनाएका छन्, जसमा चार शतक र ५३ अर्धशतक सामेल छन्।
इन्डियन प्रिमियर लिग (आईपिएल) मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र दिल्ली क्यापिटल्सबाट खेलिसकेका मिलरले सन् २०२२ मा गुजरात टाइटन्सलाई उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका थिए। आईपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उनले ३८ बलमा शतक प्रहार गरेका थिए।
कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको अपेक्षाअनुसार विश्वस्तरीय खेलाडी अनुबन्ध गर्न सफल भएको बताएका छन्। “समर्थकहरूको कर्णाली याक्सबाट उच्च अपेक्षा थियो, र हामीले डेभिड मिलरजस्तो विश्वचर्चित खेलाडीलाई अनुबन्ध गरेर त्यो अपेक्षा पूरा गर्न सकेका छौँ,” उनले भने। मिलरको आगमनले टोलीको उपाधि सम्भावना बलियो बनेको र एनपिएलमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उनको भनाइ छ।
एनपिएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ बाट सुरु हुँदै छ, जसमा सोमपाल कामी कर्णाली याक्सका मार्की खेलाडी रहनेछन्। राष्ट्रिय टोलीका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादवसमेत कर्णालीको टोलीमा छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |